Tune to BFM 91.2|Biratnagar

मोरङमा भोलिदेखि दादुरा रुवेलाको खोप लगाईने

विराटनगर, २९ माघ । मोरङका १ लाख बढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाईने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको हो ।

प्रदेश नं. १ का जिल्लाहरुमा फागुनमा खोप अभियान सञ्चालन हुँदैछ । फागुन १ गतेदेखि एक महिना सम्म चल्ने अभियानमा मोरङका १ लाख ९ सय ९ सय २९ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । विराटनगरमा आज समन्वय समिति, सरोकारवाला व्यक्ति र सञ्चारकर्मीवीचको अर्तक्रिया कार्यक्रममा प्रमुख वस्नेतले सो जानकारी दिनुभएको हो ।

दादुरा रुवेला निरुपणका लागि अभियान चलाईएको उहाँल बताउनुभयो । सन् २०२३ भित्रमा नेपालबाट दादुरा रुवेला निरुपण भएको घोषणा गर्ने सरकारको तयारी छ । सन् २०२० भित्रमा घोषणा गर्ने लक्ष्य राखिएपनि पुरा नभएपछि सन् २०२३ भित्रमा नियन्त्रण गर्ने सरकारी तयारी रहेको बताईएको छ । नेपालमा दादुरा रुवेला निरुपण भएपनि नियन्त्रण भईनसकेको उहाँले बताउनुभयो । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेश नं. १ मा ३२ जनामा दादुरा भएको पाईएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्याङ्कले देखाएको छ ।

मोरङको सुनवर्षी र रतुवामाईमा दादुरा भएको पाईएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । सन् २०१९ को तथ्याङ्क अनुसार देशभरिका १ हजार ६ सय ४५ मा गरिएको परिक्षणमा ३ सय ६६ जनामा दादुरा भएको पाईएको थियो । दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्ने हुन्छ ।

दादुराको खोपसँगै मोरङमा पोलियो थोपा पनि खुवाईदैछ । अभियान अन्र्तगत जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रम छ ।

फागुन ६ देखि १४ गते सम्म मोरङका ८ वटा स्थानीय तहका ४१ हजार १ सय ७२ बालबालिका र फागुन १६ देखि २४ सम्म विराटनगर महानगरपालिका सहितका ९ वटा स्थानीय तहका ४७ हजार ८ सय ४६ बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान रहेको स्वाथ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा कानेपोखरी, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान, जहदा र रंगेलीमा पोलियोथोपा खुवाईने कार्यक्रम छ ।

दोश्रो चरणमा विराटनगर, बुढीगंगा, ग्रामथान, बेलबारी, केराबारी, सुन्दरहरैचा, लेटाङ, उर्लाबारी र मिक्लाजुङमा पोलियोथोपा खुवाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख वस्नेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button