Tune to BFM 91.2|Biratnagar

मोरङमा मृत्यु भएका दुवै पुरुषमा कोरोना पुष्टि

विराटनगर, २१ साउन । विराटनगरको कोशी अस्पतालमा आज मृत्यु भएका मोरङका दुवै पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसँगै ४५ वर्षका दुवै पुरुषको मृत्यु कोरोनाकै कारण भएको खुलेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो । मृतक एक जना विराटनगर र एक जना रंगेलीका हुन् ।

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको थियो । उनलाई ज्वरो र जण्डिसको समस्या रहेको भन्दै गयराति उपचारका लागि अस्पताल ल्याइएको थियो ।

कोरोनासँग मिल्ने लक्षण देखिएसँगै स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पठाउँदै उनलाई उपचारका लागि आइसोलेसनमा लगिएको थियो । दिउँसो उनको मृत्यु भइसक्दा पनि रिपोर्ट भने आएको थिएन । मृत्यु भएसकेपछि ३ः३० बजेतिर रिपोर्ट पोजेटिभ आएको डा. दासले बताउनु भयो ।

त्यस्तै मोरङकै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपुर्याउँदा मृत्यु भइसकेको थियो । उनको बिहान १०ः३० बजेतिर मृत्यु भएको जनाइएको छ । बिरामी हुनुअघि कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनको पनि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराइएको थियो ।

मृतकको पीसीआर परीक्षण रिपोर्ट दिउँसो ३ः३० बजे पोजेटिभ आएको डा. दासले बताउनु भयो । उता कोरानाका कारण मृत्यु भएका विराटनगरका पुरुषकी ३५ वर्षीया श्रीमतीमा भने कोरोना भाइरस संक्रमण पोजिटभ देखिएको छ । स्वास्थ्यमा समस्या रहेका श्रीमानलाई उनैले उपचारका लागि अस्पताल ल्याएकी थिइन् ।

कोशी अस्पतालकै प्रयोगशालामा स्वाब परीक्षण गराउँदा श्रीमतीको पनि रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको जानकारी डा. दासले दिनु भयो । उहाँले दुवै मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो । शव ‘डिस्पोज’ गर्न नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई बुझाइने उहाँको भनाइ छ ।

योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

त्यस अघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button