मोरङमा होली विशेष सुरक्षा योजना

0
162

विराटनगर, १४ फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले रंगहरुको पर्व होलीलाई लक्षित गरेर विशेष सुरक्षा रणनीति तयार पारेको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगर भएका कारण पनि प्रहरीले यस वर्ष होली आउन तीन दिन बाँकी छँदै विशेष सुरक्षा योजना बनाएर लागू गरिसकेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार होलीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको छ । उहाँले पर्वलाई शान्तिपूर्ण रुपमा मनाउने वातावरण बनाउनका लागि सादा पोशाकका प्रहरी र प्रहरीको मोवाइल गस्ती समेत परिचालन गर्न थालिसकिएको बताउनु भयो । प्रहरीले सद्भाव कायम राखेर उल्लासमय वातावरणमा होली पर्व मनाउन सबैमा आग्रह पनि गरेको छ । शान्ति सुरक्षामा आँच आउने खालका कुनै पनि गतिविधी हुन नदिने हिसावको सुरक्षा व्यवस्था मिलाइएको बताउँदै एसपी बिसीले अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीको ध्यान केन्द्रीत हुने बताउनु भयो । उहाँले होलीमा इच्छा विपरित रंग लगाउने, लोला हान्ने, पानी छ्याप्ने, फोहोर जन्य पदार्थको प्रयोग गर्ने, महिला, बृद्धबृद्धा तथा बालबालिका एवं यात्रुलाई दुःख दिने लगायतका जथाभावी कार्य रोक्न विशेष सुरक्षा योजना ल्याइएको जानकारी दिनु भयो । उहाँका अनुसार नियम विपरित गलत गतिविधी गर्ने एवं कसैको इच्छा विपरित होली मनाउन खोज्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाउने छ । बिसीले होलीमा अबाञ्छित गतिविधी गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर घटनाको प्रकृति अनुसार मुद्धा चलाउने तयारी गरिएको पनि बताउनु भयो । उहाँले मादक पदार्थ एवं नशा जन्य पदार्थ सेवन गरेर जथाभावी सवारी साधन चलाउँदै ट्राफिक नियमको उल्लंघन गर्ने, सामाजिक सद्भाव र मेलमिलापमा आँच आउने खालका गतिविधी गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्धका गतिविधी गर्नेलाई नछाडिने स्पष्ट पार्नु भयो । नियमित प्रहरी परिचालन बाहेक होलीलाई मध्यनजर गरेर विराटनगर लगायत मोरङका विभिन्न स्थानमा सुरक्षाकर्मीको उपस्थिती पनि बाक्लो बनाइएको छ । यस वर्ष फागुन १७ गते पहाडी क्षेत्र र १८ गते तराई क्षेत्रमा होली पर्व मनाइँदैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here