राप्रपाले छान्न सकेन विराटनगरको उम्मेदवार
विराटनगर, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विराटनगर महानगरपालिकाको उम्मेदवार छान्न सकिरहेको छैन ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयनको समय तोके पनि विराटनगरमा आकांक्षी बढी भएपछि राप्रपाले उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।
तर उम्मेदवार छनोटका लागि छलफल जारी रहेको राप्रपाले जनाएको छ ।
राप्रपाका जिल्ला अध्यक्ष माधव आचार्यका अनुसार विराटनगर महानगरको मेयरको उम्मेदवारका लागि महामन्त्री प्रल्हाद साह र दिलीप धाडेवाको दाबी छ ।
केहीसमय अघि महानगरमा १० रुपैयाँमा खाना खुवाउने अभियान चलाएर चर्चामा आउनु भएका धावेडा आफूले महानगरमा मेयरको टिकट पाउनुपर्ने दाबी गर्नुहुन्छ ।
यसअघि मौन देखिनु भएका साहले पनि उम्मेदवारीमा चासो देखाउनु भएको छ ।
पार्टीले मोरङका सबै पालिकामा उम्मेदवारी दिने बताउँदै अध्यक्ष आचार्यले आज दिउँसोसम्म महानगरदेखि सबै स्थानीय तहमा उम्मेदवार छनोट सक्ने तयारी रहेको जानकारी दिनु भयो । महानगरको उपमेयरमा विन्दुकुमारी लुइँटेल आचार्यको सम्भावना देखिएको छ ।
विन्दुकुमारी पार्टी अध्यक्ष आचार्यकी पत्नी हुनुहुन्छ । लामोसमय पार्टीमा सक्रिय लुइँटेलले महानगरको विकासमा आफू समर्पित रहने बताउनु भयो ।