राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा निजी क्षेत्रको अधिकांश माग सम्बोधन

विराटनगर, २ साउन । मौद्रिक नीतिले निजी क्षेत्रको अधिकांश माग सम्बोधन गरेको छ । राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा कोभिड–१९ बाट अति प्रभावित व्यापार व्यवसायमा हालकै धितोमा थप २० प्रतिशत चालू पुँजी दिने व्यवस्था गरिएको छ ।

निजी क्षेत्रले कोभिड १९ का कारण उद्योग व्यवसाय चलाउनै नसकिने भन्दै २० देखि २५ प्रतिशत चालू पुँजी कर्जा प्रवाह हुनुपर्ने माग गर्दै आएका थिए । मौद्रिक नीतिमा सरकारले बजेटमा व्यवस्था गरेबमोजिम ५० अर्ब रुपैयाँको कोष स्थापना गरी निश्चित मापदण्डका आधारमा पाँच प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था छ ।

यस्तो कर्जा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम सञ्चालन र ती क्षेत्रका कर्मचारीको पारिश्रमिक भुक्तानी, रोजगारी गुम्नेलाई उद्यमशीलताका लागि दिइनेछ । मौद्रिक नीतिले कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना तथा पुनतार्लिकीकरण गर्ने व्यवस्था गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मौद्रिक नीतिमा भनिएको छ, ‘पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दी अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गरिनेछ ।

’ त्यस्तै २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन प्रकृतिका चालू पुँजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्नेछन ।

मौद्रिक नीतिमार्फत कोभिड–१९ बाट कम मात्रामा प्रभावित पेसारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको पनि अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले कोभिड–१९ बाट मध्यम रूपमा प्रभावित पेसारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

वित्तिय नीतिमा लघुवित्त वित्तीय क्षेत्रको कर्जाको हकमा भने थप ६ महिना भाखा सार्न सकिने व्यवस्थाछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button