रुसी राष्ट्रपतिनिकट व्यक्ति तथा सरकारी अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

0
136

काठमाडौ, २४ चैत । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ जना निकट व्यक्ति, १७ वरिष्ठ सरकारी अधिकारीसमेत कयौं कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।उनीहरुमाथि पुरै विश्वलाई हानी गर्ने गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धमा रुसी राष्ट्रपति पुटिनका सुरक्षा गार्ड, उनका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका कम्पनी छन् ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता सारा स्यान्डर्सका अनुसार यो प्रतिबन्धको अर्थ अमेरिकाले रुससँग सम्बन्ध पुरै अन्त्य गरेको भन्ने होइन । रुससँगको सम्बन्ध सुमधुर बनाउन अमेरिकी चाहना भएको र उसको व्यवहारमा सुधार ल्याउन प्रतिबन्ध लगाइएको उनको भनाइ थियो ।यसैबीच अमेरिकाले प्रतिबन्ध गाएपछि रुसले कडा कदम उठाउने चेतावनी दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमले रुस आफ्नो बाटोबाट पछि नहट्ने स्पष्ट पारेको छ । उसले अमेरिकी कदमलाई ‘मूर्खतापूर्ण’ संज्ञा दिएको छ । यसले दुई देशबीचको आर्थिक सम्बन्धमा नकारात्मक असर पर्ने रुसको भनाइ छ । अमेरिकाले अघिल्लो महिना पनि रुसका १९ नागरिकमाथि प्रतिबन्ध लगाएको थियो । उसले अमेरिकामा साइबर आक्रमण गरेको र राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here