रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्स विजयी

विराटनगर, २५ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ ।

दुबईमा गएराति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।

वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

हिजो साँझ सम्पन्न पहिलो खेलमा खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ । कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button