Tune to BFM 91.2|Biratnagar

लकडाउन’ उल्लंघन गर्ने ८२२ जना पक्राउ

विराटनगर, १० वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्ने क्रम मोरङमा रोकिएको छैन । दिन प्रतिदिन कोरोना संक्रमित बढिरहँदा पनि ‘लकडाउन’को पालना भने हुन नसकेको हो ।

सर्वसाधारणको ठूलो हुल जम्मा हुने, सवारी साधनहरु चलाउने, भेलाजम्मा भएर गफगाफ गर्ने, एकै पटक ठूलो संख्यामा हिँडडुल गर्ने, एकअर्कामा भेटघाट गर्ने, सामूहिक रुपमा किनमेल गर्न बजार जाने, धेरै मानिसहरु जम्मा भएर साप्ताहिक हटिया लगाउने क्रम नरोकिएको विराटनगरका सुरेन्द्र पौडेलले बताउनु भयो ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले एक ठाउँमा भीडभाड नगर्न र भेलाजम्मा नहुन आग्रह गर्दै मुलुकमा ‘लकडाउन’ जारी राखेको छ । ‘लकडाउन’को पालना गराउन नागरिकलाई सचेत गराउने काम भइरहे पनि उल्लंघन नरोकिएको प्रहरीको भनाइ छ ।

‘लकडाउन’का समयमा घर बाहिर ननिस्कन, भेलाजम्मा नहुन र ‘होम क्वारेन्टाइन’मा बस्न सरकारले आग्रह गरिरहे पनि त्यसको पूर्ण रुपमा पालना हुन नसकेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताउनु भयो ।

लकडाउनको पालना नगरे नेपालमा कोरोनाका कारण ठूलो मानविय क्षति बेहोर्नु पर्ने खतरा बढेर गएको छ उहाँको भनाइ छ । प्रहरीले हालसम्म मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने आठ सय २२ जनालाई पक्राउ गरेको छ । जसमा सात सय २९ पुरुष र ९३ जना महिला छन् । पक्राउ गरिएकाहरुलाई तीन घण्टा भन्दा बढी होल्ड गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याएर व्यक्तिगत विवरण राख्दै सम्झाई बुझाई गरेर आगामी दिनमा ‘लकडाउन’ को उल्लंघन नगर्न चेतावनी दिँदै छाड्ने गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

‘लकडाउन’ उल्लंघन गरेर चलाइएका दुई हजार तीन सय ९१ सवारी साधन जिल्ला भरबाट नियन्त्रणमा लिइएको जानकारी अधिकारीले दिनु भयो । नियन्त्रणमा लिइएका सवारी साधनमा ४७ वटा अटो र टेम्पो, ५३ वटा टिपर, ट्रयाक्टर र ट्रक, २९ वटा कार र जीप, एक हजार सात सय आठवटा मोटरसाइकल र स्कुटर र पाँच सय ५४ वटा साइकल रहेका छन् ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाड्ने गरिएको उहाँको भनाइ छ । यता कोरोना भाइरस विरुद्धको अभियानमा प्रहरीले मोरङमा युवाहरुलाई एकत्रित गर्दै परिचालन पनि गरेको छ । ‘प्रहरीको साथी म’ नामक नयाँ अभियानमार्फत विशेष ढंगले युवाहरुलाई परिचालन गरिएको एसपी अधिकारीको भनाइ छ ।

स्वयंसेवकका रुपमा परिचालित युवाहरुले ‘लकडाउन’ पालनाका लागि प्रहरीलाई सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button