मोरङका अलगअलग स्थानबाट लाखौंका अवैध कपडा बरामद

विराटनगर, २ कात्तिक । सशस्त्र र नेपाल प्रहरीले मोरङका अलगअलग स्थानबाट लाखौं मूल्य बराबरका तस्करीका कपडा लगायतका अवैध सामान नियन्त्रणमा लिएको छ ।

रातको समयमा तस्करी भइरहेको अवस्थामा कपडा, मटर र मदिरा लगायतका सामान बरामद गरिएको हो । बरामद भएका सामान १३ लाख मूल्य बढीको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) बखरीको टोलीले नौ लाख २१ हजार तीन सय रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेका छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१६ केसलीयास्थित उखुबारीबाट गय राति ११ः३० बजेतिर लिएको कपडा नियन्त्रणमा लिइएको जानकारी दिनु भयो ।

उहाँका अनुसार कुर्तासलवार, टप्स लगायतका अवैध कपडा प्याक गरिएका १६ वटा बोरा नियन्त्रणमा लिइएको हो । त्यस्तै बीओपी रानीको टोलीले इश्लामपुर र मटेरुवा नाका हुँदै भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, खाद्यान्न र चाबी बनाउने मेसिन बरामद गरेको छ ।

बरामद भएको सामान एक लाख ४० हजार मूल्य बराबरको रहेको जानकारी एसपी पौडेलले दिनु भयो । त्यस्तै नेपाल प्रहरीले पनि विराटनगर लगायत मोरङका विभिन्न स्थानबाट तस्करीका कपडा, मटर र मदिरा बरामद गरेको छ । विराटनगर–८ जय नेपाल चोकबाट को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान कपडा बरामद गरिएको छ ।

कुर्ता सलवार सेट एक सय ६५ पिस, कुर्ती सिंगल छ सय आठ पिस र बच्चाको कपडा २६ पिस नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार एक लाख ८० हजार मूल्य बढीको तस्करीको कपडासँगै टेम्पो र चालक विराटनगर–१६ दरैयाका २६ वर्षीय दीपक दासलाई पनि नियन्त्रणमा लिइएको छ ।

यता विराटनगर–१७ मटेरुवास्थित चुलिया देवी साहको घर नजिकैबाट १८ बोरा अवैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी खड्काले नेपालबाट भारततर्फ तस्करी गर्न लगेको पाइएपछि मटर नियन्त्रणमा लिइएको बताउनु भयो ।

सशस्त्र र नेपाल प्रहरीले तस्करीका कपडा लगायतका सामान र टेम्पो तथा चालकलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाएका छन् । यसैबीच मोरङको जहदा गाउँपालिका–१ धुनी मोडबाट को २ ह ३७९२ नम्बरको अटो टेम्पोमा लोड गरेर लगिँदै गरेको अवस्थामा अवैध मदिरा नियन्त्रणमा लिएको छ ।

टेम्पो चेकजाँच गर्दा २० काटुन फोर स्टार वियर, एक काटुन गोल्डेन ओके, १० काटुन उमंग नामक मदिरा र दुई बोतल सिग्नेचर बरामद गरिएको जानकारी एसपी खड्काले दिनु भयो ।

उहाँका अनुसार ढुवानी गर्ने इजाजत र बिल पनि नभएका कारण मदिरा नियन्त्रणमा लिइएको हो । ८० हजार मूल्य बराबरको मदिरा र टेम्पो आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button