लालबाबु पण्डितलाई लक्षित गरेर बम विष्फोट

0
358

विराटनगर, १२ मंसिर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं पूर्व मन्त्री लालबाबु पण्डितलाई लक्षित गरेर आज विहान बम विष्फोट गराइएको छ । वाम गठबन्धनका उम्मेदवार पण्डित चढेको बा १३ च ५२४२ नम्बरको स्कारपिओलाई लक्षित गरेर बुढीगंगा गाउँपालिका ५ को पोठियाफान टोलमा विहान ८ः४० बजे विष्फोट गराइएको जानकारी एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले दिनु भयो । बुढीगंगा ६ को कोडिया चौकमा आयोजना गरिएको घरदैलो कार्यक्रम एवं चुनावी सभामा सहभागी हुन जाँदै गर्दा पण्डित चढेको गाडीलाई लक्षित गरेर बीच बाटोमै विष्फोट गराइएको चौधरीले बताउनु भयो । वाम गठबन्धनका क्षेत्र नम्बर ६ प्रदेशसभा ‘क’ का उम्मेदवार जीवन आचार्य चढेको गाडी पनि पण्डितको गाडी भन्दा पछाडि थियो । पण्डित चढेको गाडी अगाडि बढिरहेको स्थानबाट लगभग १० मिटरको दूरीमा विष्फोट गराइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट गाडीमा र कुनै मानविय क्षति हुन नपाए पनि विष्फोट स्थलमा ठूलो खाल्डो बनेको छ । शक्तिसाली विष्फोटपछि त्यहाँ भागदौड मच्चिएको थियो । विष्फोटपछि पण्डितलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार उम्मेदवार घरदैलोमा जाँदै गरेको बाटोमा सुतली बम विष्फोट गराइएको हो । उहाँले विष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिंदै घटनामा संलग्नले पहिचान हुन नसकिरहेको कारण खोजी तीव्र पारिएको र प्रहरीले आफ्नो हिसावमा घटनाको अनुसन्धान सुरु गरेको बताउनुभयो । बिसीले निर्वाचन विरोधी गतिविधी गर्ने र चुनाव भाँड्ने समूहले कुनै क्षति पुर्याउने भन्दा पनि आतंक सिर्जना गर्ने हिसावमा विष्फोट गराएको हुन सक्ने बताउनु भयो । पण्डितले आफ्नो विजय निश्चित भएपछि कसरी हराउन सकिन्छ भनेर लागेको समूहले विष्फोट गराएको आरोप लगाए । विष्फोटलाई अपराधिक मानसिकताको उपजको संज्ञा दिएर उहाँले आफूमाथि साङ्घातिक आक्रमणको योजना पनि बनिरहेको बताउँदै सुरक्षाको माग गर्नु भएको छ । जनतालाई त्रसित बनाउने हिसावले गरिएका अपराधिक गतिविधीले आफ्नो चुनावी अभियानमा कुनै असर नपर्ने उहाँको भनाइ छ । यसैबिच उदयपुरमा कांग्रेस नेताको घरमा बम विस्फोट भएको छ । उदयपुर क्षेत्र नम्बर १ मा प्रदेशसभाका कांग्रेस उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भान्टाबारीमा रहेको घरमा लक्षित बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार विस्फोटबाट घर नजिकैको गोठमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here