विराटचौकमा आगो नियन्त्रणमा लिने क्रममा छ जना घाइते

विराटनगर, १५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकमा होटल एवं खाजा घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा छ जना घाइते भएका छन् ।

घाइते हुनेमा सुन्दरहरैंचा– १२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैंचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैंचा –१० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल छन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि घाइते मध्ये थापा, दाहाल र लुइँटेललाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरुलाई थप उपचारका लागि भन्दै नोबेलले पनि अन्यत्र रेफर गरिदिएको प्रहरीले जनाएको छ । अरु घाइतेको विराटचौकमै उपचार भइरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले होटलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा आगोले पोलेर उनीहरु घाइते भएको जानकारी दिनु भयो । विराटचौकमा रहेका तीनवटा होटल एवं खाजा घरमा आज बिहान १ बजेतिर आगलागी भएको थियो । मन्दिरा न्यौपानको ए–वान खाजा घरदेखि सुरु भएको आगो फैलिएर अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समीर स्टाफ होटलमा पनि क्षति पुगेको एसपी खड्काले जानकारी दिनु भयो ।

प्रहरीले बाँसको टाटी र कर्कटपाताको छानो लगाएर बनाइएका होटलमा भएको आगलागीबाट अनुमानित १० लाखको क्षति भएको हुन सक्ने जनाएको छ । आगलागीका क्रममा होटल भित्र रहेका ग्यास सिलिण्डर विष्फोट हुँदा जनजीवन त्रसित बनेको थियो ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेकाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा २ बजेतिर आगो नियन्त्रणमा लिन सकिएकाले अन्यत्र फैलिएर थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button