विराटनगरका सिटी सफारी चालक आन्दोलित

0
305

 

विराटनगर, ११ पुस । राजमार्ग र सहायकमार्गमा संचालनमा रोक लगाइएसंगै विराटनगर महानगरपालिकाका सिटी सफारी (सिटी रिक्सा) चालक आजबाट आन्दोलनमा उत्रिएका छन् । महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति घोषणा गर्दै नौ बुँदे माग राखेर चालक आन्दोलित भएका हुन् । विराटनगर महानगरपालिका भित्र वातावरण मैत्री सिटी सफारीले यात्रुलाई सुविधा दिइरहेका बेला राज्यबाट विभिन्न बहानामा अंकुश लगाएर चालकलाई दुःख दिने र हतोत्साही पार्ने काम गरिएको भन्दै समितिले विरोध पनि गरेको छ ।

संयोजक श्रेष्ठले नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्नु पर्नेमा नागरिक आफैले स्वरोजगार मुलक काम गर्दा पनि राज्यले अंकुश लगाएर दुःख मात्रै दिइरहेको बताउनु भयो । उहाँले मजदुरी गरेर आफ्नो जीविका चलाउँदै आएका सफारी चालकमाथि राज्यले अन्याय गरेको गुनासो पोख्नु भयो । संघर्ष समितिले सरकारसंग विभिन्न नौ बुँदे माग समेत राखेको छ । लेखपढ गर्न नजान्ने सफारी चालकलाई सहज रुपले विराटनगर महानगरपालिकाद्धारा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने व्यवस्था गर्नु पर्ने, सिटी सफारी र टेम्पो लगायतका तीन पाङ्ग्रे सवारी साधन विक्री वितरणमा तत्काल रोक लगाउनु पर्ने, नम्बर प्लेट स्थानीयकरण गरिनु पर्ने, रुट परमिट र जाँचपास खारेजी गर्नु पर्ने, सिटी सफारीलाई लगाइने पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्मको जरिवानाको प्राब्धान हटाइनु पर्ने लगायतका माग सफारी चालकले राखेका छन् ।

त्यस्तै महानगर भित्र बनिरहेको छ लेन सडकमा एक लेन सिटी सफारीलाई लागि छुट्याउनु पर्ने, जोखिमयुक्त सडक यथाशीघ्र मर्मत सम्भार गर्नु पर्ने, सफारी सिफारिस कर सफारीकै हितमा खर्च गर्नु पर्ने र सफारीलाई ठाउँठाउँमा स्टेनको व्यवस्था गर्नु पर्ने माग पनि राखिएको छ । माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी सफारी चालकहरुले दिएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here