Tune to BFM 91.2|Biratnagar

विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड

विराटनगर, १९ साउन । पिलोको शल्यक्रिया गरिएका एक जना वृद्ध पुरुषको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा गय राति तोडफोड र हुलदंगा भएको छ । मलद्धारमा रहेको पिलो (घाउ)को शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको राति १० बजेतिर मृत्यु भएको हो । साँझ ७ बजेतिर शल्यक्रिया गरिएका वृद्धको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार हिजो बिहान भर्ना गरिएका वृद्धको मलद्धारमा रहेको पिलोको सर्जन डा. सरोज राजवंशीको टोलीले शल्यक्रिया गरेको हो ।

वृद्धको मृत्यु भएपछि आक्रोसित बनेका आफन्त र परिवारका सदस्यले मध्यरातमा अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडबाट काउण्टरको झ्यालका शिशा फुटेका छन् । २५÷३० जनाको समूहले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट पनि गरेको मेहताले बताउनु भयो । उहाँका अनुसार बिरामीको मृत्यु भएको केही बेरमै जम्मा भएको भीड आक्रोसित बनेर अस्पतालमाथि खनिँदा अवस्था तनावपूर्ण बन्यो । ‘पिलोका कारण सङ्क्रमण फैलिएर बिरामीको मृगौला, मुटुलगायत शरीरका विभिन्न अङ्गले काम गर्न छाडिसकेको रहेछ,’ मेहताले भन्नु भयो, ‘सङ्क्रमण रोक्न र बिरामीलाई बचाउन शल्यक्रियाको विकल्प थिएन ।’

वृद्ध पुरुषमा मधुमेह र न्यून रक्तचापको पुरानै समस्या रहेको उहाँको भनाइ छ । मेहताका अनुसार मलद्धारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निस्कृय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले दिएका छन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्त र परिवारका सदस्य तोडफोड र कुटपिटमा उत्रिएका हुन् । आक्रोसित भीडलाई रोक्न र सम्झाईबुझाई गर्न खोज्दा कर्मचारी र सुरक्षागार्डमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button