Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट काठमाडौंका लागि चार माइक्रो र एउटा बस छुटे

विराटनगर, १ असोज । सरकारले लामो दूरीका लागि सार्वजनिक यातायात खुला गरेको दिन आज विराटनगरबाट चारवटा माइक्रो र एउटा बस काठमाडौंका लागि छुटेका छन् ।

झन्डै ६ महिनादेखि सार्वजनिक यातायात ठप्प थियो । कोरोना त्राससँगै लकडाउन गरेर २०७६ चैत ११ बाट सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको यातायात सेवा सञ्चालन गरेपछि व्यवसायीले केही राहत महसुस गरेका छन् ।

आज विश्वकर्मा पूजा भएकाले थोरै सवारी साधन सञ्चालन भए पनि भोलिबाट भने पूर्ण रुपमा सञ्चालनमा आउने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषाध्यक्ष राजु धमलाले बताउनु भयो । काठमाडौंका लागि चारवटा माइक्रो र एउटा बस छुटेका जानकारी दिँदै धमलाले छोटो एवं मध्यम दूरीका लागि पनि सीमित सवारी साधन सञ्चालन भएको बताउनु भयो ।

विराटनगर आएका सवारीलाई बसपार्कमा सुरक्षित रुपमा सेनीटाइज गरिएको उहाँको भनाइ छ । सवारी साधनलाई निसंक्रमण गर्दा यात्रु, यातायात मजदुर र यातायात सेवा सबै सुरक्षित हुने धमलाको भनाइ छ । यात्रुसँग सरकारले तोकेअनुसार ५० प्रतिशत भाडा बढी लिइएको उहाँले बताए ।

नेपाल यातायात मजदुर संघ मोरङका सहसचिव भुपाल केसीले विराटनगरबाट छुटेका सवारीमा चालक, सह चालकलाई फेसमास्क, स्यानीटाइजर समाजिक दूरी जस्ता सुरक्षाका आधारभूत सामाग्री उपलब्ध गराइएको बताउनु भयो । काठमाडौ यात्राका लागि बिहीबार ४० जना यात्रुले सेवा लिएका छन् ।

१८ जना यात्रु आट्ने क्षमताको माइक्रो बसमा सामाजिक दूरी पालना गर्दै पाँचदेखि आठ जनासम्म मात्र यात्रु राखिएको केसीले बताउनु भयो । काठमाडौं जानका लागि बसपार्क पुगेका यात्रुहरु स्वंयले मास्क तथा स्यानीटाइर साथमै लिएर आएका थिए ।

भोलिदेखि पूर्ण रुपमा यातायात सञ्चालन हुने भएपछि पश्चिमतर्फ, बुटवल, धनगढी, नेपालगञ्ज, काठमाडौं, वीरगञ्ज लगायतका लागि धमाधम बुकिङ भइरहेको यातायात व्यवसायीले बताए ।

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट पहाडी क्षेत्रसँगै छोटो र लामो दूरीका लागि करिव तीन सय ५० वटा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button