Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट गाँजासहित पक्राउ परेका थुनुवाको मृत्यु

विराटनगर, २० भदौ । गाँजासहित विराटनगरबाट पक्राउ गरेर प्रहरीले हिरासतमा लिएका एक जना थुनुवाको आज दिउँसो मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो ।

कामतलाई गत शुक्रबार विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको थियो । कामतविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गरेको थियो । त्यही क्रममा बेहोस भएर ढलेको र उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताउनु भयो । उहाँका अनुसार कामतविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी थियो । गत शुक्रबार समय अपुग भएपछि र शनिबार हिजो सार्वजनिक विदा भएकाले आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी हुँदै गर्दा थुनुवाको मृत्यु भएको एसपी जीसीको भनाइ छ । उहाँले म्याद थप गर्न अदालत लैजानलाई हिरासतबाट बाहिर निकाल्ने क्रममा रिंगाटा चल्योभन्दै कामत एक्कासि बेहोस भएर ढलेको बताउनु भयो । मुखबाट फिँज निस्किएको अवस्थामा उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । एसपी जीसीले कामत लागुऔषधका दुव्र्यसनी र कारोबारी पनि रहेको बताउनु भयो । नियमित लागुऔषध सेवन गर्ने कामतले प्रहरी हिरातमा हुँदा लागुऔषध सेवन गर्न नपाएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गर्न नपाएको असरका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी जीसीले घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र त्यसको रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button