Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट जोगवनी गएका युवामाथि गोली प्रहार

विराटनगर, २९ भदौ । भारतको जोगवनी गएका विराटनगर महानगरपालिका–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि गोली प्रहार भएको छ ।

उनीमाथि भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा गोली हानिएको हो । मण्डल नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवा नाका हुँदै हिजो दिउँसो ३ बजेतिर भारततर्फ गएका थिए ।

भारत छिरेको केही बेरमै उनीमाथि गोली प्रहार भएको खुलेको नेपाल प्रहरीले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

तर नाकामा परिचालित प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५÷३० वर्षीय मुकेश यादवले पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको बताउनु भयो ।

मण्डलको औंलामा प्वाल परेको छ । घटनापछि भागेर विराटनगर छिरेका मण्डललाई प्रहरीले गयराति ९ः३० बजेतिर रोडशेष चोक नजिक फेला पारेर उपचारका लागि कोशी अस्पताल पुर्याएको थियो ।

उपचारमा संलग्न चिकित्सकले गोली प्रहारबाटै चोट लागेको पुष्टि गरेका छन् । एसपी खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गएभन्ने बारेमा पनि अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

भारतीय भूमिमा घटना भएकाले यस घटनाको अनुसन्धान गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने काम भारतीय प्रहरीले गर्ने भएको छ । एसपी खड्काले आवश्यक समन्वय गर्दै घटनामा संलग्नलाई जतिसक्दो चाँडो कारबाहीको दायरामा ल्याउन भारतीय प्रहरीलाई आग्रह गरिसक्नु भएको छ ।

घटनामा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको र पक्राउ गर्दै घटनाको अनुसन्धान गरेर दोषीमाथि कारबाही अघि बढाइने जानकारी भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button