विराटनगरमा खसीको भन्दै बाख्रीको मासु बिक्री

विराटनगर, ११ असार । विराटनगरमा प्रहरीकै संरक्षणमा खसीको भन्दै बाख्रीको मासु बिक्री हुने गरेको फेला परेको छ ।

खसीको भन्दै पसलमा राखेर बाख्रीको मासु बिक्री गरिरहेका बेला पक्राउ परेका व्यापारी श्याम थापालाई मोरङ प्रहरीले बिना कारबाही छाडेपछि बाख्रीको मासु बिक्री प्रहरीकै संरक्षणमा हुने गरेको पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का समयमा सबै कुराको अभाव भइरहँदा थापाले खसीको भन्दै आफ्नो मासु पसलबाट बाख्रीको मासु बेच्ने गरेको फेला परेको थियो ।

विराटनगर महानगरपालिका–३ बरगाछीबाट प्रहरीको सीआरभी पोस्ट भृकुटी चौकको टोलीले गत शनिबार मासु व्यापारी थापालाई पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो ।

बिक्रीका लागि राखेको लगभग १० किलो बाख्रीको मासुसहित पक्राउ गरेर मासु व्यापारी थापालाई कारबाहीकालागि पठाइए पनि प्रहरी अधिकारीको मिलेमतोमा कारबाही नागरिकन उन्मुक्ती दिइएको छ । उनलाई एकरात जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिए पनि कानुनी कारबाही अघि नबढाईकन आइतबार छाडिएको स्रोतले बताएको छ ।

बाख्रीको मासु बेच्दा कारबाही भोगेर दुई वर्ष अघि छुटेका थापाले त्यो धन्दा नछाडेको पाइएको एक प्रहरीको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पसलमा राखेर उपभोक्तालाई बिक्री गर्न नभईकन केही व्यक्तिहरु मिलेर मासु खानलाई पाठी (बाख्री) काटेको पाइएकाले व्यापारी थापाविरुद्ध कारबाही अघि नबढाइएको जिकिर गर्नु भयो ।

पक्राउ परेका समयमा थापाले होटलबाट माग आएकाले बाख्री काटेर मासु पुर्याउन लागिएको प्रहरीलाई बताएका थिए । तर प्रहरी अधिकारीकै सेटिङमा बिक्री गर्न नभइकन केही व्यक्ति मिलेर मासु खानका लागि पाठी काटेको भन्ने बनाएर मासु व्यापारी थापालाई उन्मुक्ती दिइएको छ । प्रहरी कार्यालयबाट छुटेपछि थापाले आफ्नो पसल सञ्चालनमा ल्याएका छन् ।

उनको पसलबाट अहिले निर्वाध रुपमा मासु किनबेच भइरहेको छ । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले सर्वसाधारणलाई झुक्याउने मासु व्यापारीलाई कारबाही नगरिकन छाडिनु आश्चर्यको विषय र प्रहरीको गम्भीर लापरबाही भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button