विराटनगरमा २३ संक्रमित थपिए

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गयराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिका–१७ मा सात जना संक्रमित थपिएका छन् । विराटनगर–३ मा एक, ५ मा चार, ६ मा तीन, ७ मा एक, ८ मा तीन, ९ मा दुई, १५ मा एक र १७ नम्बर वडामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक संक्रमितको वडा खुलाइएको छैन । हिजो दिउँसो नौ जनामा संक्रमण देखिएकोमा राति २३ जना थपिएपछि महानगरभित्र एकै दिन ३२ जनामा संक्रमण पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो । उहाँकाअनुसार हालसम्म महानगरमा तीन सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जसमा दुई सय छ पुरुष र एक सय सात महिला छन् । तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरको वडा नम्बर ९ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये त्यही वडाका दुई जनाको मृत्यु भइसकेको छ । धेरै संक्रमित भेटिएको ९ नम्बर वडा स्थानीय प्रशासनले गत आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ । संक्रमितको सम्पर्कमा रहेकाको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दै पीसीआर परीक्षणको दायरा बढाएर संक्रमण नियन्त्रण गर्न उक्त वडा सिल गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।

हालसम्म विराटनगर–१२ मा ४१, ६ मा २९, ५ मा २४, ७ मा २४, ३ मा २२, २ मा १७, ११ मा १६, १० मा १५, १७ मा १५, १५ मा १४, ८ मा १४, ४ मा १२, १३ मा नौ, १४ मा छ, १, १६ र १८ मा एक÷एक जनामा संक्रमण देखिएको छ । विराटनगर– १९ मा हालसम्म कोरोना देखिएको छैन । विराटनगर ५ मा पनि कोरोनाका कारण एक जनाको मृत्यु भइसकेको छ ।

विराटनगरमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो । महानगरले हालसम्म तीन हजार नौ सय २९ जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

संक्रमित मध्ये ९० वर्षीया वृद्धासहित ६९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button