विराटनगर जुट मिल्स खाली गर्न सशस्त्रलाई आग्रह

0
93

विराटनगर, २१ भदौ । मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्सको जग्गा निशुल्क रुपमा प्रयोग गर्दै आएको सशस्त्र प्रहरीलाई तत्काल जग्गा खाली गरिदिन मिल्स व्यवस्थापनले आग्रह गरेको छ । जुट मिल्सको जग्गा र त्यहाँ निर्मित भवन लगायतका भौतिक संरचना २०६५ सालदेखि सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । जुट मिल्स भित्रबाट सशस्त्र प्रहरीका दुईवटा युनिट सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङ र सशस्त्र प्रहरी वल विराटनगर भन्सार राजश्व गुल्म संचालनमा छन् । सशस्त्र प्रहरीले भने काम कारवाही संचालन गर्ने आफ्नो स्थायी संरचना नभएका कारण उद्योग मन्त्रालयसंग सहमति गरेर जुट मिल्सको जग्गा र संरचना प्रयोग गरिएको जनाएको छ । जुट मिल्स संचालनको अन्तिम तयारीमा रहेका कारण सशस्त्रले प्रयोग गर्दै आएको जग्गा र संरचना खाली गरिदिन आग्रह गरिएको मिल्सका कार्यवहाक निर्देशक राजेन्द्र कार्कीले बताउनु भयो । कार्कीका अनुसार पटक पटक बन्द हुँदै आए पनि आगामी मंसिर पहिलो साताबाट व्यवसायिक उत्पादन सुरु गर्ने गरी मिल्स संचालनको तयारी गरिएका कारण सशस्त्रलाई जग्गा खाली गरिदिन आग्रह गरिएको हो । सशस्त्रले जग्गा ओगटिरहने हो भने बन्द रहेको मिल्स संचालनमा ल्याउन बाधा पुग्ने उहाँको भनाइ छ । ‘मिल्स संचालनमा आएपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारीलाई प्रयोग गर्न भौतिक संरचना आवश्यक पर्ने भएका कारण खाली गरिदिन सशस्त्र प्रहरीलाई भनेका छौं,’ कार्कीले भन्नु भयो, ‘सशस्त्रले जग्गा ओगटेर बसिदिएका कारण मिल्स संचालनमा आएपछि मजदुर र कर्मचारीलाई आवास लगायत प्रयोजनका लागि हामीसंग ठाउँनै नहुने भयो ।’ सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख एसपी भेषबहादुर शाहले सशस्त्रको युनिट संचालनका लागि जुट मिल्सको विकल्पको खोजी भइरहेको बताउनु भयो । शाहले सुरक्षाका दृष्टिकोणले प्रभावकारी र राम्रोसंग कार्यालय संचालन हुने हिसावमा विकल्पको खोजी गर्ने काम भइरहेको जानकारी दिंदै सरकारले पनि जग्गा खरिदका लागि पहल गरिरहेको बताउनु भयो । विराटनगर जुट मिल्स ६७ विगाहा क्षेत्रफलमा फैलिएको छ । सशस्त्रको सीमा सुरक्षा कार्यालय तथा भन्सार गुल्मले त्यहाँको ३० विगाहा जग्गा र त्यहाँ बनेका ६० वटा भन्दा बढी भवन लगायतका संरचनाको प्रयोग गरिरहेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here