विराटनगर भन्सारको राजस्व संकलन ४३ प्रतिशतले कमी

विराटनगर, ४ साउन । विराटनगर भन्सार कार्यालयको राजस्व संकलन आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्य भन्दा लगभग ४३ प्रतिशतले कमी आएको छ ।

५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन गरेको भन्सारले निर्धारित लक्ष्य भन्दा ४२ दशमलव ८७ प्रतिशत कम राजस्व असुली गर्न सकेको हो । भन्सारकी सूचना अधिकारी सुनिता पौडेलले ४९ अर्व ६४ करोड ६० लाख रुपैयाँ असुलीको लक्ष्य लिइएकोमा सफल हुन नसकेको जानकारी दिनु भयो ।

भन्सारले २८ अर्व ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्रै संकलन गरेको छ । निर्धारित लक्ष्यभन्दा २१ अर्व २८ करोड २५ लाख ७१ हजार कम संकलन भएको पौडेलले बताउनु भयो । २१ अर्व २० करोड १० लाखको लक्ष्य रहेको भन्सार महसुलबाट १२ अर्व चार करोड २९ लाख मात्रै राजस्व उठेको छ ।

मूल्य अभिबृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजारको लक्ष्य रहे पनि भन्सारले १४ अर्व ६७ करोड ७४ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । अन्तशुल्कतर्फ एक अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । सूचना अधिकारी पौडेलले अन्तशुल्कमा पनि लक्ष्यअनुसार काम हुन नसकेको बताउनु भयो ।

उहाकाअनुसार दुई अर्व ५० करोड ९४ लाख २४ हजार रुपैयाँ अन्तशुल्कबाट राजस्व संकलनको लक्ष्य लिइएको थियो । सूचना अधिकारी पौडेलले कोरोनाका कारण गरिएको ‘लकडाउन’ तथा विभिन्न समयमा भएका अवरोधले आयात निर्यात पूर्ण रुपमा प्रभावित बनेका कारण लक्ष्यभन्दा निक्कै कम राजस्व संकलन भएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button