Tune to BFM 91.2|Biratnagar

विराटनगर विमानस्थलको धावन मार्ग विस्तारका लागि सम्झौता

विराटनगर, १९ असोज । विराटनगर विमानस्थलको धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संघीय सरकार, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच समझदारी भएको छ ।

हाल १ हजार ५ सय मिटरको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थलका स्वरूपमा स्तरोन्नति गर्न ३ तहका सरकारबीच आज विराटनगरमा समझदारी भएको हो । समझदारी पत्रमा संघीय सरकारका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।

विराटनगर नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार थप १ हजार ५ सय मिटरको धावन मार्गको विस्तार गर्न विमानस्थलको दक्षिण र पश्चिमको गरी १ सय ५५ बिघा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । यसका लागि ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विराटनगर विमानस्थलको धावन मार्ग ३ हजार मिटरमा विस्तार गरिएपछि यहाँ अन्तर्राष्ट्रिय उडानको अवतरण र उडान गर्न सकिने बताइएको छ ।

प्रमुख खरेलले संघीय सरकारको मन्त्रिपरिषदको बैठकले जमिन अधिग्रहण गर्ने निर्णय गरेपछि मात्र अधिग्रहणको बाटो खुल्ने बताउनुभयो । जमिन अधिग्रहणका लागि सङ्घीय सरकारले ५०, प्रदेश सरकारले ४० र महानगरले १० प्रतिशत रकम ब्योहोर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button