विराट गोल्डकप फागुनमा गर्ने तयारी

0
250

विराटनगर, २३ पुस । विराटनगरको इतिहास र गौरवसंग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाका लागि तयारी थालिएको छ । विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष हुन नसकेको प्रतियोगिता यस वर्षको फागुनमा आयोजना गर्ने गरी तयारी थालिएको हो । आयोजनाका लागि विराटनगरका उद्योगी एवं पूर्व फुटबलर नविन रिजालको अध्यक्षतामा आयोजक समिति पनि गठन गरिएको छ । रिजाल यसकै तयारीको सिलसिलामा काठमाडौं पुग्नु भएको छ । मोरङ जिल्ला खेलकुद विकास समितिले मैदान उपलब्ध नगराएपछि गोल्डकप २०७३ को संस्करण आयोजना हुन सकेन । गोल्डकप विराटनगरको सहिद रंगशालामा आयोजना हुँदै आइरहेको थियो । यस अघि उद्योगी राजेन्द्र राउत नेत्रृत्वको समितिले गोल्डकप आयोजना गर्दै आएको थियो । विराट गोल्डकप ट्रष्टका उपाध्यक्ष सन्तोश वानियाले सम्भव भए सम्म फागुनको पहिलो साता नभए दोस्रो सातामा गोल्डकप २०७४ को संस्करण आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिनु भयो । उहाँले गोल्डकपलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने हिसावमा काम अघि बढाइएको बताउनु भयो । वानियाले प्रतियोगितामा नेपाल र भारतका चर्चित टिमहरुको सहभागिता गराउने योजना रहेको बताउनु भयो । सम्भव भए सम्म बंगलादेश, भुटान र श्रीलंकाका टिमलाई पनि सहभागी गराउने योजना रहेको उहाँको भनाइ छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिता २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा संचालन भएको थियो । २०६८ बाट विराट गोल्डकपका रुपमा निरन्तरता दिइने बताइए पनि २०७० र २०७३ मा संचालन हुन सकेन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here