विश्वकप फुटबलमा युरोपका चार टिम भिड्दै

0
140

काठमाण्डौ, २५ असार । रुसमा जारी विश्वकप फुटबलमा भोली देखि सेमिफाइनल चरणका खेलहरु शुरु हुँदैछ । भोलि हुने पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने छन । बुधबार क्रोएसियाले इङ्ल्यान्डसँग खेल्नेछ । विश्वकप फुटबलमा यसपटक सेमिफाइनलमा पुग्न सफल सबै चार टोली युरोपका हुन् । विश्वकपको सेमिफाइनलमा चारै टिम युरोपेली भएको यो पाँचौं अवसर हो । यसअघि सन् १९३४ को दोस्रो विश्वकपमा ईटाली, अष्ट्रिया, तत्कालिन चेकोस्लोभाकिया र जर्मनी सेमिफाइनलमा पुगेका थिए । १९६६ को विश्वकप फुटबलमा तत्कालिन पश्चिम जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल र तत्कालिन सोभियत युनियन सेमिफाइनलमा पुगेका थिए । १९८२ को विश्वकप फुटबलमा पोल्याण्ड, ईटाली, पश्चिम जर्मनी र फ्रान्स सेमिफाइनलमा पुग्दा २००६ मा ईटाली, जर्मनी, पोर्चुगल र फ्रान्स सेमिफाइनलमा भिडेका थिए । जर्मनी बाहेकका चार युरोपियन टिम विश्वकपको सेमिफाईनलमा पुगेको भने यो पहिलो अवसर हो । चार युरोपियन टिम सेमिफाइनलमा पुगेसँगै विश्वकप फुटबलको उपाधि युरोपमै रहने निश्चित भएको छ । सन् १९३० र १९५० को विश्वकप फुटबल बाहेक अन्य १८ संस्करणमा कम्तिमा एउटा युरोपियन टिम फाइनलमा पुगेको छ । अहिलेसम्म युरोपले ११ पटक तथा दक्षिण अमेरिकाले ९ पटक विश्वकप फुटबलको उपाधि जितेका छन् । सबैभन्दा बढी ब्राजिलले ५ पटक विश्वकप जित्दा जर्मनी र ईटालीले ४÷४ पटक, अर्जेन्टिना र उरुग्वेले २÷२ पटक तथा इंग्ल्यान्ड, फ्रान्स र स्पेनले एक–एक पटक उपाधि उचालेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here