Tune to BFM 91.2|Biratnagar

वृद्धको मृत्युपछि रिपोर्ट पोजेटिभ

विराटनगर, १ असोज । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत एक जना वृद्ध पुरुषको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–१० निलसदनका ६६ वर्षीय वृद्धको आज साँझ ५ः१५ बजेतिर मृत्यु भएको हो ।

मृत्यु भएको लगभग १५ मिनेटपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताउनु भयो ।

उहाँका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकोभन्दै वृद्धलाई भदौ ३० गते उपचारका लागि अस्पताल ल्याइएको थियो । कोरोनाको आशंकामा तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थाल्दै स्वाब पीसीआर परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइए पनि मृत्युपछि मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी उहाँले दिनु भयो ।

वृद्धमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको देवको भनाइ छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखिएको भए पनि वृद्धलाई बचाउन नसकिएको उहाँले बताउनु भयो ।

देवका अनुसार सप्तरी घर भएका वृद्ध दुई वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएको खुलेको छ ।

कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय वृद्धको पनि हिजोराति मृत्यु भएको थियो । उनको पनि मृत्युपछि आज बिहान कोरोना रिपोर्ट पोजेटिभ आयो ।

प्रदेश १ को राजधानी विराटनगरमा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button