शीतलहर र चिसोका कारण सप्तरीमा ६ जनाको मृत्यु,

0
282

सप्तरी, २२ पुस । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा ६ जनाको मृत्यु भएको छ । हिजो महदेवा गाँउपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो । अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सवै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ ।
चिसो बढ्दै गएकाले निजी विद्यालयहरु पनि अब बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए । यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ । बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here