श्रम प्रमुख सञ्जेलमाथि कार्यकक्षमै आक्रमण

विराटनगर, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि आज आफ्नै कार्यकक्षमा आक्रमण भएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेर रगताम्य भएको प्रहरीले जनाएको छ । सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् । उनीहरुले कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरेको प्रहरीले जनाएको छ । सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने कर्मचारी हो ।

घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीले छुट्याउन सकेका कारण अप्रिय घटना भने हुन नपाएको बताउनु भयो । छुट्याउन जानेहरुको शरीर र लगाएका कपडा सञ्जेलको अनुहार र ओठ फुटेर निस्किएको रगतले रगताम्य भएको अधिकारीको भनाइ छ । कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

कुटाई खाएको बताए पनि सञ्जेलबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने सञ्जेल आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउनु हुन्छ ।

काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उहाँले तत्कालै जागिरबाट हटाउने गर्दै आउनु भ्एको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button