संसदीय दलको नेतामा शेरधन राई,मुख्यमन्त्री बन्ने बाटो खुल्यो

0
122

बिराटनगर २६ माघ एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो ।संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले पछि पार्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् ।प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए ।एक मत भने बदर भएको छ ।प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा परेको छ । यसैबिच एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलका नेता शेरधन राईले अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् ।उनका अनुसार ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार बन्नेछ ।पार्टीको आन्तरिक दलको नेता चयन भएपछि राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ ।’फागुन २ भित्र प्रदेश सरकार बन्ने भन्दै उनले प्रदेशलाई भ्रष्टाचारमुक्त सम्बृद्ध बनाउने बताए ।उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । राईले भने, मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन । सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्ने र जिम्मेवारी प्रदान गर्नुपर्छ र म गर्छु पनि ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here