सटर भाडामा लगाउने विषयमा विद्यालयमा टेण्डर विवाद

0
446

विराटनगर, ३० पुस । व्यवसाय संचालनका लागि विराटनगरमा रहेको गोग्राहा माध्यमिक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद बढेको छ । विद्यालयले आफ्ना सातवटा सटर भाडामा लगाउने विषयमा गत पुस १३ गते सार्वजनिक विदा बाहेक १५ दिनको म्याद राखेर टेण्डर आब्हान गरेको थियो । विद्यालयले आब्हान गरे अनुरुप टेण्डर फारम दर्ता गर्न नदिएको र आफ्ना नजिककालाई मात्रै फारम दर्ता गर्ने अनुकूल वातावरण मिलाइएको भन्दै विरोध सुरु भएपछि टेण्डर विवाद चुलिएको हो । विवादका कारण सटर भाडामा लगाउने विषय अन्योलमा परेको छ । सटरका लागि सातवटा फारम दर्ता भएका थिए । विद्यालयले भाडामा लगाउने सटरमा विभिन्न व्यवसाय संचालन हुँदै आइरहेका छन् । आज यस विषयमा जिल्ला शिक्षा कार्यालय मोरङमा उजुरी पनि परेको छ । विराटनगर ५ का सन्तोश चौहानले विद्यालयले विधि र प्रक्रिया मिचेर टेण्डर आब्हान गरेको भन्दै रद्ध गर्न र पुःन टेण्डर आब्हान गर्न माग राखेर उजुरी दिनु भएको हो । ‘विद्यालयले आफ्ना नजिककालाई मात्रै फारम दर्ता गर्ने वातावरण मिलाएर अरुलाई फारम नै दर्ता गर्न दिएन,’ चौहानले भन्नु भयो, ‘त्यही भएर हामीले विधि र प्रक्रिया मिचेर गरेको कामको विरोध गरेका हौं ।’ विद्यालय प्रशासन र व्यवस्थापन समितिको मिलेमतोमा आफन्त र नजिककालाई प्रयोग गरेर टेण्डर हत्याउने खेल भएको आरोप पनि लागेको छ । यस विषयलाई लिएर उजुरी परेपछि शिक्षा कार्यालयले विधि र प्रक्रिया नमिचिकन सटर भाडामा लगाउने विषयमा निर्णय लिन आज विद्यालयका नाममा पत्र पठाएको छ । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले टेण्डर फारम खरिदमा रोक लगाउने काम भएको भन्दै उजुरी परेपछि त्यसमा पुर्नविचार गर्न र विवाद रहित तरिकाबाट सटर भाडामा लगाउन विद्यालयलाई निर्देशन दिइएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक बेदु खतिवडाले टेण्डरका विषयमा थप छलफल गर्ने गरी टेण्डर प्रक्रिया तत्काललाई माघ ९ गते सम्म स्थगन गरिएको जानकारी दिनु भयो । खतिवडाले सुरुमा कोही पनि टेण्डर फारम खरिद गर्न नआएको र पछि आएर लफडा झिकेको दावी पनि गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here