सडक अभावमा रावाखोला पुल प्रयोगविहीन

0
53

खोटाङ, २८ भदौ । खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ ।हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो । स्वीस सरकारको करिब रु साढे चार करोडको लागतमा सम्पन्न उक्त पुलले रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा र ऐंसेलुखर्क गाउँपालिका–७, माक्पा जोडिएको छ । रावाखोलामा पक्की पुल बनेपनि पुलको आसपासको सडक अपुरै हुँदा सिधा यातायात सञ्चालन हुन सकेको छैन । पुलको आसपासमा बनाइनुपर्ने एप्रोच रोडका लागि स्वीस सरकारको सहयोगमा करिब रु ८५ लाखको ठेक्का लागेको स्वीस सम्वद्ध कर्मचारी सुशील श्रेष्ठले बताउनुभयो । एप्रोच रोडका लागि करिब रु एक करोडको इस्टिमेट भएपनि घटाघटको बोलपत्रमा रु ८५ लाखमा फ्युचर–कुँवर जेबी कम्पनीले ठेक्का पाएको हो । यसैबीच, रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारको स्तरोन्नतिका लागि सर्वेक्षण शुरु गरिएको छ । बजार क्षेत्रभित्रको सडक कालोपत्रे, विद्युत र टेलिफोनको तार तथा खानेपानीको पाइप जमिनमुनि गाड्ने र अव्यवस्थित अवस्थामा रहेको ढल निकासका लागि सर्वेक्षण शुरु गरिएको हो । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा आगामी डेढ वर्षभित्र सबै काम सम्पन्न गर्ने गरी सर्वेक्षणको काम शुरु गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here