Tune to BFM 91.2|Biratnagar

सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने पक्राउ

विराटनगर, ३ असोज । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै विवाहित महिलामाथि बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् ।

बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएकी एक महिलामाथि बलात्कारको प्रयास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै महिलामाथि बलात्कारको प्रयास भएको उहाँको भनाइ छ ।

‘बिहे गरेको छ वर्षसम्म पनि सन्तान नभएपछि निराश बनेर पुगेकी एक महिलालाई झरफुक गरेर ठीक बनाइदिन्छुभन्दै धामीझाँक्रीको काम गर्ने व्यक्तिले आफ्नै घरमा बलात्कार प्रयास गरेको खुलेको छ,’ एसपी खड्काले भन्नु भयो , ‘सन्तानको आशमा महिला आफूसँग सशरण परेको मौका छोप्न खोजेको पाइयो ।’

भदौ २५ गते बिहान महिलामाथि रामले घरकै पूजा कोठामा लगेर बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ । झारफुक गर्दै सन्तान हुने बनाइदिन्छन् भनेर आफन्तले सल्लाह दिएपछि महिला आफ्ना श्रीमानलाई लिएर धामीझाँक्रीको काम गर्दै आएका रामको घरमा पुगेको पाइएको छ ।

पूजा कोठामा लगेर अँगालो हाल्दै आफैले कपडा खोलेर धामीझाँक्रीको काम गर्ने रामले बलात्कारको प्रयास गरेको महिलाले बताएकी छन् । घटना महिलाकै श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए ।

पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास भएको खुलेको जानकारी प्रहरीले दिएको छ ।

पक्राउ परेका पुरुषविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन हिजो म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button