सर्पदंशका बिरामीले भरिंदै स्वास्थ्य संस्था

0
229

विराटनगर, २४ असार । बर्खा लागेसंगै मोरङका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको संख्या ह्वात्तै बढेको छ । विराटनगर स्थित कोसी अञ्चल अस्पताल, रंगेली स्थित जिल्ला अस्पताल, उर्लाबारी स्थित मंगलबारे अस्पताल लगायतका ठूला तथा साना स्वास्थ्य संस्थामा सर्पले टोकेर घाइते भएका बिरामीहरु आउने क्रम बढेको हो । कोसी अञ्चल अस्पताल आकस्मिक कक्षका इन्चार्ज एवं सिनियर अहेव रघुनन्दन अधिकारीका अनुसार आकस्मिक रुपमा उपचारका लागि आउने मध्ये सर्पले टोकेर घाइते भएकाहरुको संख्या बढी छ । उहाँका अनुसार पछिल्लो समय दैनिक १५ देखि २० जना सम्म सर्पदंशका बिरामी आउन थालेका छन् । अस्पताल आउने मध्ये सबै भन्दा धेरै गोमन, करेत लगायतका सर्पले टोेकेका बिरामीहरु रहेको अधिकारीले बताउनु भयो । गोमन र करेत तराईमा पाइने विषालु सर्प हुन् । यस्ता सर्पले टोकेको एक घण्टा भित्रमा बिरामीलाई सम्बन्धीत स्वास्थ्य संस्थामा पुर्याएर उपचारको व्यवस्था गरिनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सर्पले टोकेका बिरामीका लागि सरकारले निशुल्क औषधिको व्यवस्था गरेको छ । अधिकारीले सर्पदंशका बिरामीको संख्यामा बृद्धि भए पनि त्यसका विरुद्ध लगाइने एन्टी एसनेक भेनम भने पर्याप्त रहेको जानकारी दिनु भयो । विषालु सर्पले टोकेका बिरामीमा स्वासप्रस्वासमा समस्या आउने, बोली बन्द हुने, मुटुको चाल कम हुने, बढी निद्रा लाग्ने, रक्तसंचारमा समस्या आउने, अत्यधिक पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने तथा पोल्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रक्तचाप घट्ने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बताउनु भयो । चिकित्सकका अनुसार बर्खाको समयमा अत्यधिक वर्षा भई सबैतिरको जमिन पानीले भरिएर बस्न सक्ने अवस्था नभएपछि सर्पहरु जमिनको सतहमा आउने र बढी मात्रमा मान्छेलाई डस्ने गर्छन । कोसी अञ्चल अस्पतालमा मात्रै असार लागे यता सर्पदंशका तीन सय जना भन्दा बढीले उपचार गराइसकेको जानकारी अधिकारीले दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here