सहज आपूर्ति र गुणस्तर कायम गर्न आपूर्तिमन्त्रीको निर्देशन

0
55

बिराटनगर,२६ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सुविस्ता हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पाेरेसनको अञ्चल कार्यालयको हिजो अनुगमनपछि अत्यावश्यकीय वस्तुको सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “उपभोग्य वस्तुको सहज आपूर्ति र गुणस्तरीयताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै नागरिकले सेवा नपाएको गुनासो नआओस् ।” अनुगमनका क्रममा उहाँले गलत काम गर्नेलाई कुनै पनि हालतमा कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । राम्रो काम गर्दा केही समस्या आए त्यसको नैतिक जिम्मेवारी आफूले लिने वचनबद्धता प्रकट गर्नुभएको मन्त्री मण्डलको निजी सचिवालयले जनाएको छ । आयल निगमको विराटनगर डिपो स्तरोन्नति गर्ने तयारी मन्त्रालयले गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा निगम, डिलर र ढुवानी व्यवसायीले जनतालाई सहज इन्धन आपूर्ति गर्न सचेत हुनुपर्ने भन्दै उहाँले तत्काल बन्द हडताल जस्ता विरोधका कार्यक्रम नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई आग्रह समेत गर्नुभयो । यस्तै नेपाल खाद्य संस्थानको कार्यालय अनुगमनका क्रममा मन्त्री मण्डलले जनतालाई कुनै पनि प्रकारको खाद्य समस्या हुन नदिन निर्देशन दिनुभयो । पटकपटक डुवान, बाढी लगायतका समस्या पर्ने क्षेत्रमा आएका खाद्य सामग्री समयमै जनतालाई उपलब्ध गराई जनमुखी सेवा दिन पनि उहाँले निर्देशन दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here