सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण

विराटनगर, १९ साउन । कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकामा सात प्रहरीसहित १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतसहित सात जना प्रहरीमा कोरोना देखिएको हो । संक्रमित हुने प्रहरीमा ४२, ४१, ३७, ३५, ३३, २५ र २४ वर्षका पुरुष छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि उनीहरुको रिपोर्ट गएराति पोजेटिभ आएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो ।

संक्रमित अन्यमा विराटनगर महानगरपालिका–७ का चार जना र विराटनगर–६ का एक जना रहेका छन् । संक्रमित मध्ये ७ नम्बर वडाका ३० र ३६ वर्षीया महिला तथा २५ र ४५ वर्षका पुरुष छन् । ६ नम्बर वडाका संक्रमित २४ वर्षीय पुरुष हुन् ।

कोशी अस्पतालमा कार्यरत दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले बताउनु भयो । संक्रमित मध्ये एक जना पुरुष मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीका बासिन्दा हुन् ।

हालसम्म विराटनगरमा एक सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button