सुनसरीमा प्रहरी र तस्कर समुहबीच गोली हानाहान

विराटनगर, २ असार । सुनसरीमा प्रहरी र तस्करको समुहबीच गोली हानाहान भएको छ । गयराति सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीटंकीमा गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक कमल थापाका अनुसार प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । प्रहरी निरिक्षक सरोज खनालको नेतृत्वमा गएको प्रहरी टोलीमा भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा आएका पाँचजनाले चेकजाँचका क्रममा प्रहरी माथि गोली चलाएका थिए ।

प्रहरीले १२ राउण्ड फायर गरेको थियो । प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका २ बस्ने २३ वर्षिय पिन्टु यादव, देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन् । अन्य तीनजनाको समुह भारत तर्फ भागेका छन् ।

प्रहरीले ९ एमएम युएस पेस्तोलबाट पाँच राउण्ड र चाइनिज पेस्तोलबाट ७ राउण्ड गरी १२ राउण्ड फायर गरेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार प्रहरीको गोली लागेर पिन्टु र राजेश सामान्य घाइते छन् ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको थियो । थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटना स्थलबाट अटोमेटिक युएसए लेखिएको पेस्तोल एउटा, गोली छ राउण्ड, २ थान म्यागजिन बरामद भएको छ ।

त्यस्तै बिआर ३८ भि ३५२८ र अन टेष्ट १२५ सीसीको साइन मोटरसाइकल पनि बरामद भएको छ ।राजेश यादवको दाहिने तिघ्रामा गोली लागेको छ । पिन्टु यादवको घुडा मुनी एउटा र बाया खुट्टाको नलीमा २ वटा प्लाव देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button