सुन तस्करी र सनम हत्या प्रकरण थुनछेकमा सरकारी वकिलको बहस सकियो, इजशालमै चर्काचर्की

0
170

विराटनगर, २८ बैशाख । साढे ३३ किलो सुन तस्करी काण्ड र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस आज सरकारी वकिलहरुका तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा सरकारी वकिलहरुले हिजैबाट बहस गर्न थालेका थिए । वादी नेपाल सरकारका तर्फबाट आठ जना मध्ये सात जना मात्रै सरकारी वकिलहरुले बहस गरेका छन् । उनीहरुले अभियुक्तहरूलाई थुनामा राखेर मुद्धाको सुनुवाइ गर्नुपर्ने र अभियुक्तलाई हदै सम्मको सजायको माग गरेका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरका उप न्यायाधीवक्ता हिमालय त्रिताल बिरामी परेपछि उहाँका ठाउँमा पनि अन्य सरकारी वकिलहरुले बहस गरेका छन् । सरकारी वकिलको बहस सकिएका कारण आइतबारबाट भने अभियुक्तहरुको पक्षमा अन्य कानून व्यवसायीहरुले बहस गर्ने छन् । त्यसपछि सरकारी वकिलका तर्फबाट प्रतिउत्तर फर्काइने छ । प्रतिरक्षामा बहस गर्नका लागि बरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, रमेश कोइराला, राजेन्द्र भट्राई, योगेन्द्रकुमार शर्मा न्यौपाने, माधवराज आचार्य, यदुनाथ खनाल, रमकुमार श्रेष्ठ हिक्मत पौडेल, टंक उप्रेती लगायत ८३ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताउनु भयो । उहाँका अनुसार बहस चल्दै जाँद पनि कानून व्यवसायीका लागि वकालतनामा दर्ता गराउने बाटो भने खुल्ला रहन्छ । मुख्य अभियुक्त गोरे भनिने चूँडामणि उप्रेती, एसएसपी श्यामबहादुर थापा लगायत ३३ अभियुक्त अझै फरार रहेका छन् त्यस्तै थुनछेक बहसको दोस्रोदिनको इजलासमा आज प्रतिवादी कानुन व्यावसायीले प्रमाण हेर्न अस्वीकार गरेका छन् । सरकारी वकिलले इजलासमा तस्करी प्रकरणमा चुणामणी उप्रेती ‘गोरे’ले हराएको सुन खोज्ने क्रममा यातना दिएको भिडियो प्रस्तुत गर्न खोजेका थिए । तर आफूहरु कमजोर हुने डरले प्रतिवादी कानुन व्यावसायीले प्रमाण हेर्न अस्वीकार गरे । सरकारी वलिकहरुले तस्करीको सुन हराएपछि भरिया र एयरलायन्सका कर्मचारीहरुलाई यातना दिएको भिडियो प्रस्तुत गरेका थिए । सुरुमा बन्द इजलासमा भिडियो हेर्न तयार भएका प्रतिवादीतर्फका वलिकहरुले भिडियो सुरु भएको ४–५ मिनेटपछि हेर्न मानेनन् । बन्द इजलासमा प्रमाण पेस गरेका सरकारी वकिल र प्रतिवादी वलिकहरु बिच चर्चा चर्की परेको थियो । समय अभाव भएपछि दिउँसो ३ बजे इजलास स्थगित गरिएको हो । वकिलहरुले हेर्न नमानेपछि स्थगित भएको थुनछेक बहस आगामी आइतवार पून सूचारु हुने छ । आइतवारबाट प्रतिवादी तर्फका वलिकहरुले बहस गर्ने अदालतले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here