सोलार बत्तीले विराटनगर झलमल हुँदै

0
69

विराटनगर, वैशाख २९ । विराटनगर शहरभरी सोलार बत्ती जडानको अभियान सञ्चालन गरिएको छ । उज्यालो विराटनगर अभियानअन्तर्गत नगर क्षेत्रमा २ हजार ५ सय ७१ वटा सोलार बत्ती जडान थालिएको हो । विराटनगर उपमहानगरपालिका कार्यालयका अनुसार २७ करोड ६३ लाख ७४ हजार रुपैयाँको लागतमा बहुवार्षिक परियोजनाअन्तर्गत पहिलो चरणमा विराटनगरको विभिन्न स्थानमा सोलार बत्ती जडान गर्ने काम भइरहेको हो । सरकारको ७० प्रतिशत अनुदान र विराटनगर उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बत्ती जडान थालिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले एक करोड २५ लाखको लागतमा विराटनगरको पुष्पलाल चोकदेखि तीनपैनी सडकखण्ड सोलार बत्ती जोड्ने काम भईरहेको जानकारी दिए । पूर्वी नेपालकै नमूना सडकका रुपमा विकास गर्ने अवधारणाअनुसार दुई लेनको कालोपत्रे सडक निर्माणसँगै सोलार बत्ती जडान भइरहेको हो । तीन किलोमिटर लामो सडकखण्डमा २ सय १५ वटा सोलार बत्ती जडान गरिँदै छ । पुष्पलाल चोकदेखि तीनपैनी सडकखण्डमा बत्ती राखिसकेपछि नगरका अरु क्षेत्रमा जडानको काम थालिने विराटनगर उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY