स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

विराटनगर, १२ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट गयराति तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले दुर्घटना गराएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो । उहाँकाअनुसार सुरुमा स्कोरपिओले सोही दिशामा हिँडिरहेकी पैदल यात्री अन्दाजी ४०÷४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो ।

ठक्करबाट हालसम्म पहिचान नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताउनु भयो ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको जानकारी गिरीले दिनु भयो । उहाँले दुर्घटनामा परेर मृत्यु भए पनि पहिचान नखुलेका दुई जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको बताउनु भयो ।

स्कोरपिओका धनी रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ । झापाको दमकमा दुई जनालाई छाडेर स्कोरपिओ इटहरीतर्फ फर्कदै गरेको अवस्थामा दुर्घटना भएको डीएसपी गिरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button