हजारौं परिवार बाढी पहिरोको जोखिममा

0
176

विराटनगर, २० असार । मोरङमा हजारौं परिवार बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा रहेको तथ्याँक प्रहरीले सार्वजनिक गरेको छ । नौ हजार एक सय ६२ परिवार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मोरङको रेकर्डमा उल्लेख छ । एक सय ८७ परिवार पहिरो र आठ हजार नौ सय ७५ परिवार बाढी तथा डुबानको उच्च जोखिममा छन् । सम्भावित पहिरोका कारण आठ सय ४० र बाढी तथा डुबानका कारण ३२ हजार आठ सय ५१ जना जोखिममा रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार प्रहरीका विभिन्न युनिटमार्फत बाढी, पहिरो र डुबानको जोखिममा रहेकाहरुको स्थलगत रुपमा तथ्याँक संकलन गरिएको हो । उहाँले स्थानीय तह, रेडक्रस लगायत विभिन्न निकायसंग समन्वय गरेर प्रहरीले जोखिममा रहेकाहरुको तथ्याँक संकलन गरेको बताउनु भयो । विगतमा दैविक प्रकोपबाट पुगेको क्षति, खोला तथा नदीमा बढेको बहावले निरन्तर रुपमा गरिरहेको कटान र प्राकृति स्रोत दोहनका कारण हुन सक्ने क्षतिलाई आधार बनाएर प्रहरीले जोखिममा रहेकाहरुको विवरण संकलन गरेको जानकारी थापाले दिनु भयो । भिरालो जमिन, कटान क्षेत्र, खोला तथा नदी किनार आसपासमा बनाइएका घरहरु र रहेका वस्ती बढी जोखिममा रहेको प्रहरीले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बाढी तथा पहिरोका कारण समस्यामा परेकाहरुलाई सुरक्षित स्थानमा सार्न र उनीहरुको व्यवस्थापनका लागि पूर्व तयारी पनि थालिएको बताउनु भयो । प्राकृतिक विपत्तिमा परेकालाई खुल्ला स्थान, विद्यालय तथा क्याम्पसका भवनहरु, सरकारी भवन, परोपकार संस्थाका भवन, सरकारी भवन, सामुदायिक वनका खुल्ला चउर लगायतमा राख्न सकिने गरी तयारी थालिएको उहाँको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here