हत्यामा संलग्न ३१ वर्षीय विनय सरदार पक्राउ

विराटनगर, ३० भदौ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा मानिसको ज्याननै जाने गरी भएको कहालीलाग्दो सामूहिक आक्रमण घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

सामूहिक आक्रमणको नेतृत्व गरेका घटनाका मुख्य अभियुक्त बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट)को संयुक्त टोलीले सरदारलाई घटना भएको १८ दिनपछि गयराति नियन्त्रणमा लिन सफल भयो ।

एक जना साथीको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । पक्राउ गरेर उनलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी खड्काले दिनु भयो ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । एउटै परिवारका उनीहरु उपचारपछि घर फर्किसकेका छन् । मृतक चन्द्रकुमार र घाइते समुन्द्र सइकुमारका भाई र गौरव छोरा हुन् । मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

खोलामा लगाइएको बाँसको पुलको विषयमा उत्पन्न विवादपछि भएको सामूहिक आक्रमणको घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button