Tune to BFM 91.2|Biratnagar

हत्या गरेर घर भित्रै पुरेको अवस्थामा शव फेला

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिका–१४ झटियाईमा हत्या गरेर आफ्नै घर भित्र गाडेको अवस्थामा आज साँझ एक पुरुषको शव फेला परेको छ ।

घर भित्रै खनेर पुरेको अवस्थामा ५५ वर्षीय सत्यराम चौहानको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

अधिकारीका अनुसार हत्या गरेर चौहान सुत्ने खाटकै साइटमा लगभग दुई÷तीन फिट जति गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको हो । खनेर आफ्नै घर भित्र शव गाडिदिएका कारण हत्या हो भन्ने पुष्टि भए पनि साँझका बेला शव फेला परेका कारण सबै कुरा प्रष्ट खुलिनसकेको उहाँको भनाइ छ । प्रहरीका अनुसार सत्यरामका तीन जना छोरा थिए ।

उनी जेठो छोरो २९ वर्षीय रोहित चौहानसँग घरमा बस्दै आएका थिए । माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे ।

आज दाजु र बुवा बस्ने घरमा पुगेका माइलो छोराले सबैतिर खुल्ला रहेको घरमा दुई जनालाई नै नदेखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यस लगत्तै पुगेको प्रहरी टोलीले खनेर हेर्दा हत्या गरेर घर भित्रै गाडेको अवस्थामा शव फेला पारेको एसपी अधिकारीको भनाइ छ ।

चौहानको कर्कटपातको छानो भएको र काठले बनाएको एक तले घर थियो । प्रहरी घटनास्थलमा पुग्दा जेठो छोरो रोहित घरमा थिएनन् । रक्सीले मातेको अवस्थामा केहीबेरपछि आइपुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रक्सीको नसामा रहेका उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका छन् । एसपी अधिकारीकाअनुसार शव एवं घटनास्थलको अवस्था हेर्दा चार÷पाँच दिन अघि नै हत्या गरेर पुरेको जस्तो देखिन्छ ।

घटनाको अनुसन्धान अघि बढाउँदै सत्यरामका जेठो र माइलो दुवै छोरामाथि सोधपुछ गर्ने काम भइरहेको जानकारी उहाँले दिनु भयो । रात परिसकेका कारण धेरै कुरा बुझ्न नसकिएको उहाँले बताउनु भयो ।

कसले हत्या गरेको र कसरी घटना भयो भन्ने बारेमा विस्तृत रुपमा अनुसन्धान अघि बढाइएपछि वास्तविकता बाहिर आउने जानकारी एसपी अधिकारीले दिनु भयो । प्रहरीले शव उत्खनन् गरेर बाहिर निकाल्दै पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button