हात्तीले दुःख दिन थाल्यो

0
228

विराटनगर, ५ पुस । पूर्वपश्चिम राजमार्ग उत्तरमा पर्ने मोरङका सुन्दरहरैंचा र बेलबारी नगरपालिकाका केही स्थानमा जंगली हात्तीले दुःख दिन थालेको छ । केही दिन यता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबै भन्दा बढी पीडित बनिरहेका छन् । यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बाली नाली नष्ट गर्ने, घरका खाद्यान्न खाईदिने लगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । झापातिरबाट केरावारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयको आशंका छ ।

तीन दिन यता सुन्दरहरैंचा नगरपालिका ७ का पूर्णकुमार दर्जी, विजय आपागाई, कृष्णप्रसाद भट्राई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पुर्याएको छ । घरमा भएका सबै धान, चामल लगायतका अन्न पनि खाइदिएको स्थानीयले बताएका छन् । हात्तीले मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएकोे छ । केही दिन यता गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि सुन्दरहरैंचा र बेलबारी नगरपालिकाका बासिन्दा रातभर नसुतिसकन जागै बस्न थालेको प्रहरीले जनाएको छ ।

मौसमी मकै बाली खान र घरमा कृषकले यो समयमा भित्राएको धान लगायतका अन्न खानका लागि जंगली हात्ती गाउँ पस्ने गरेको सुन्दरहरैंचा ७ का कृष्णप्रसाद भट्राईले बताउनु भयो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवाल प्रहरीले गाउँलेलाई हात्तीबाट बचाउन सक्ने जति सहयोग गरिरहेको बताउनु भयो ।

उहाँले विशेष गरेर रातको समयमा जंगलबाट गाउँ पस्ने हात्तीका कारण सर्वसाधारण डराउँदै बस्नु पर्ने अवस्था रहेको बताउनु भयो । स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापन सम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग पनि गरिरहेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here