Tune to BFM 91.2|Biratnagar

१४ वर्षपछि दोषी पक्राउ


विराटनगर, ११ फागुन । युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० (साविकको शनिश्चरे गाविस–१ ) का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका छन् । घटना भएको १४ वर्षपछि उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो । घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए । डीएसपी गिरीकाअनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

साँझको समयमा चउरमा निस्किएका बेला तीन युवा आएर ती युवतीलाई आफ्नै साथीकी बहिनी रहेको भन्दै घुम्न जाउँ भनेर फकाउँदै लगेपछि दीपकको घरमा पुर्याएर दुई दिनसम्म बन्धक बनाउँदै सामूहिक बलात्कार गरेको उनको भनाइ छ । घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए ।

उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर त्यस अघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ परेका थिएनन् । विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए ।

डीएसपी गिरीका अनुसार घटनापछि गाउँको घर, जग्गा, जमिन त्यत्तिकै छाडेर श्रीमती र सन्तानसहित भागेर धरान पुगेका विश्वकर्मा त्यहाँ आफ्नै घर बनाएर बसेका थिए । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आज जिल्ला अदालत मोरङमा बुझाएको छ । विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button