६० प्रतिशत मुद्धाको फैसला

0
122

विराटनगर, २७ असार । जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४÷०७५ को हाल सम्म ६० दशमलव १५ प्रतिशत मुद्धाको फैसला गरेको छ । अदालतमा चालु आर्थिक वर्षमै दर्ता भएका चार हजार दुई सय ६० र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका दुई हजार दुई सय १३ मुद्धा मध्ये तीन हजार आठ सय ९४ वटा मुद्धाको फैसला भएको हो । जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्षमा दर्ता भएका मध्ये दुई हजार पाँच सय ७९ मुद्धाको फैसला हुन बाँकी रहेको अदालतका स्रेस्तेदार नवराज दुलालले बताउनु भयो । चालु आर्थिक वर्षमा सबै भन्दा बढी अंश सम्बन्धी मुद्धा अदालतमा दर्ता भएको छ । एक हजार ७५ मुद्धा दर्ता भएकोमा पाँच सय ८६ वटा मात्रै फर्छाैट भएका छन् । बाँकी रहेका चार सय ८९ वटा फैसलाको चरणमा रहेका छन् । अदालतमा आठ सय ६६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा छ सय ७७ वटाको किनारा लागिसकेको र एक सय ८९ वटा मुद्धा फैसला हुन बाँकी रहेको जानकारी दुलालले दिनु भयो । माना चामलको पनि तीन सय ५१ वटा मुद्धा मोरङ अदालतमा दर्ता भएका छन् । जसमा एक सय ७९ वटा माना चामल सम्बन्धी मुद्धा फैसला भइसकेका छन् । एक सय ७२ वटा फर्छाैट हुन बाँकी छन् । चालु आर्थिक वर्षको हाल सम्म दर्ता भएका मध्ये लागूऔषधका दुई सय ८८, घरेलु हिंसाका ७६, जवरजस्ती करणीका एक सय ५८, मानव बेचबिखन तथा ओसारपसारका १०, अपहरण तथा शरीर बन्धकका सात, बहुविवाहका ३२ र अन्य सरकारवादी चार सय ९० वटा मुद्धा छन् । परेका मध्ये लागूऔषधका दुई सय २३, घरेलु हिंसाका ३७, जवरजस्ती करणीका ९६, मानव बेचबिखन तथा ओसारपसारका चार, अपहरण तथा शरीर बन्धकका दुई, बहुविवादका २१ र अन्य सरकारीवादी तीन सय ४३ मुद्धाको फैसला भएसकेको दुलालले बताउनु भयो । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजुकुमार खतिवडाले जतिसक्दो चाँडो प्रमाण जुटाएर मुद्धाको फैसला गर्नेतर्फ अदालत लागिपरेको जानकारी दिनु भयो । खतिवडाले कतिपय मुद्धा मामिलालाई सुरुमा मेलमिलापका लागि पनि अदालतले प्रयास गर्ने जानकारी दिंदै मेलमिलाप हुन नसकेका विषयलाई मात्रै मुद्धाका रुपमा अघि बढाउने गरिएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here