काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम, एमालेको अग्रता बढ्यो

0
145

 

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका विद्यासुन्दर शाक्य ८६९१ मतसहित अग्र स्थानमा रहनुभएको छ । यस्तै कांग्रेसका राजुराज जोशीले ५९७७ मतसहित  दोस्रो स्थानमा हुनुहुन्छ । विवेकशील नेपालकी रञ्जु न्यौपानेले २५१४ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका किशोर थापाले १९०४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी काठमाडौंको टोखा नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी र उपप्रमुखमा एमालेकै ज्ञानमाया डङ्गोल विजयी हुनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले  जानकारी दिनुभयो ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिइरहनुभएको छ । तर पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर भने कम भएको छ । देवी रेणु भन्दा ५२९ मतले मात्रै अघि हुनुहुन्छ । त्यस्तै भक्तपुरको सूर्य्विनायक नगरपालिका वडा नं. ४ को वडा अध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ ।  वडा अध्यक्षमा एमालेका उम्मेद्वार उत्तम थापाले १ हजार ४४३ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीप्रसाद न्यौपाने १ हजार ४४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी भक्तपुर नगरपालिका वडा नम्बर ६ र ७ मा नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारको प्यानल विजयी भएको छ । भक्तपुर नगरपालिका वडा न. ६ मा अध्यक्षमा नेमकिपाका हरिराम सुवालसहितको प्यानल विजयी भएको छ । सुवालले २ हजार ५३० मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश राजचलले ३४३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम छ । एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १२ हजार ५९५ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले १२ हजार १४४ मत पाएका छन् । उपमेयरमा पनि एमालेको अग्रता छ । मञ्जु गुरुङले ११ हजार ९१६ मत पाएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले १० हजार ८८१ मत पाएकी छन् ।

त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी भएकी छन् । गएराति सम्पन्न मतगणनाबाट नेकपा एमालेबाट उम्मेदवारी दिएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी भएकी हुन् ।क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याइन् । जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा एमाले र चारवटा वडामा कांग्रेस विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ । त्यस्तै काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली कांग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले ६ हजार ८०० मत ल्याए । त्यसैगरी, उपप्रमुखमा कांग्रेसबाट नै लक्ष्मी दनुवारले सात हजार २६ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले ६ हजार ६२२ मत प्राप्त गरिन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here