निष्पक्ष रुपमा सम्प्रेषण निर्वाचन आयोगको आग्रह

0
624

काठमाडौं, ४ असार । निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति, सम्प्रदाय, धर्म, लिङ, भाषा क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पर्ने कुनै पनि सूचना वा समाचार सम्प्रेषण नगर्न पनि सुझाव दिएको छ । निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारले उल्लङ्घन गरेको आचारसंहिताको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशन गर्न पनि आयोगले आमसञ्चारमाध्यमसँग अनुरोध गरेको छ । स्थानीय तहको दोस्रो चरणको यही असार १४ गते हुने निर्वाचन नजिकिँदै गर्दा आयोगले निर्वाचनसम्बन्धी शिक्षामूलक सूचना र समाचारलाई उच्च प्राथमिकता दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएको हो । राजनीतिक दल वा उम्मेदवारलाई समान अवसर दिन, उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन र प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमलाई भनेको छ ।

स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी दिँदै आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना भन्नुभयो “निर्वाचन आचारसंहितामा ४५ सेकेन्डभन्दा लामो विज्ञापन बजाउन, पेसागत आचरण र मान्यता विपरीत हुने कामकारबाही गर्न, आधारहीन सामग्री सामाजिक सञ्जालमा प्रकाशन गर्न हुँदैन ।” निर्वाचन आचारसंहिताको सबैभन्दा बढी उल्लङ्घनका घटना उम्मेदवारी मनोनयनपत्र दर्तापछि र मौन अवधिमा हुने भएकाले त्यसबेला सञ्चारमाध्यमले राजनीतिक दल र उम्मेदवारको गतिविधिलाई बढी सतर्कताका साथ अध्ययन गर्न पनि आयोगले भनेको छ ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने कानुनी व्यवस्था रहेको छ । निर्वाचनको आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आयोग ऐनअनुसार एक लाख रुपैया सम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको सहन्यायाधिवक्ता तिमिल्सिनाले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here