Tune to BFM 91.2|Biratnagar

अढाई लाख भारुसहित एक भारतीय युवा पक्राउ

विराटनगर, १४ फागुन । झन्डै अढाई लाख भारु (भारतीय रुपैयाँ)सहित एक भारतीय युवा विराटनगरबाट हिजो साँझतिर पक्राउ परेका छन् । भारतीय नागरिक ३४ वर्षीय सञ्जय सिंह दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुरक्षाकर्मीलाई छल्दै लुकाईछिपाई प्रतिबन्धित नोट बोकेर नेपाल छिरेको पाइएपछि भारत अररीयाका बासिन्दा सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । सिंहको साथबाट पाँच सय र दुई हजार दरका भारतीय नोट बरामद भएको छ । डीएसपी राईले पाँच सय दरका तीन सय ८८ थान र दुई हजार दरका २६ थान भारतीय नोट बरामद भएको पुष्टि गर्नु भयो । बरामद भएको भारु नेपाली तीन लाख ६२ हजार चार सय रुपैयाँ हुन्छ ।

पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । नेपालमा पाँच सय माथिका भारतीय नोट बोक्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । राईले बरामद भएको प्रतिबन्धित भारतीय नोटको कुनै स्रोत नखुलेपछि प्रहरीले आफ्नै ढंगबाट थप अनुसन्धान थालेको पनि जानकारी दिनु भयो । उक्त पैसा अवैध रुपमा हुने गरेको हुण्डी कारोबारको भएको हुनसक्ने आशंका प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button