Tune to BFM 91.2|Biratnagar

अनुसन्धान शंकास्पद बनेको गुनासो

विराटनगर, ५ असोज । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको गुनासो माइती पक्षको छ । रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा गत आइतबार बिहान रोजिनाको शव घरकै कोठाभित्रको ओछ्यानमा फेला परेको थियो । माइती पक्षले उनको हत्या भएको दाबी गरिरहेका छन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको भनिरहेको छ । अनुहार र शरीरका विभिन्न भागमा नीलडाम एवं चोटकपटक रहेको तथा रगत बगिरहेको अवस्थामा आफूहरुले शव देखेको रोजिनाका काका चक्र गिरीले बताउनु भयो ।

हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुण्ड्याइएजस्तो देखिने उहाँको भनाइ छ । चक्रले प्रहरीले घटनाको ढाकछोपका लागि आत्महत्याभन्ने देखाएर तथ्य बङ्ग्याउने काम गरेको बताउनु भयो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले कोठाभित्रबाट चुक्कुल लगाएको अवस्थामा शव भेटिएको जनाएको छ । मृतकका हजुरबुवा देवीप्रसाद गिरीले कोठाभित्रको पंखामा सल झुण्डिएको र शव भने ओछ्यानमा भेटिएको बताउनु भयो । देवीप्रसादका अनुसार सुरुमा भित्रबाट चुक्कुल लगाएर आत्महत्या गरेको अवस्थामा शव भेटिएको भन्दै आइतबार बिहान ७ बजेतिर खबर गरिएको थियो । ‘माइती पक्ष नआइकन ढोका नखोल्नु भनेका थियौँ । तर हामी पुग्दा नातिनी मृत फेला परेको भनिएको कोठा खुल्लै थियो,’ उहाँले भन्नु भयो, ‘घटनालाई सामान्य मान्न सकिँदैन । पीडितलाई न्याय दिलाउन लाग्नुपर्नेमा घटना ढाकछोपतिर लागेकाले प्रहरीकै भूमिका शंकास्पद देखियो ।’

यसैबीच प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाएर न्यायको माग गर्दै मृतकका आफन्तले आज इलाका प्रहरी कार्यालय बेलबारी घेराउ गरेका छन् । घटनामा संलग्न भएको भन्दै रोजिनाकी सासू ५३ वर्षीया दानमाया काफ्ले, जेठाजु ३४ वर्षीय पुष्पराज काफ्ले र जेठानी ३२ वर्षीया लक्ष्मी काफ्लेविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान भइरहेको र पोस्टमार्टमा रिपोर्ट आइसकेपछि घटनाका बारेमा धेरै कुरा प्रष्ट हुने बताउनु भयो । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि जाहेरी दर्ताका विषयमा निर्णय लिइने उहाँको भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button