अन्तर कलेज फुटबल टुर्नामेन्ट हुने
विराटनगर, २६ माघ । विराटनगरमा आगामी फागुन अन्तिम सातादेखि अन्तर कलेज फुटबल टुर्नामेन्ट हुने भएको छ ।
विराट बुद्ध स्पोर्टिङ क्लवको आयोजनामा फागुन २८ गतेदेखी शुरु हुने प्रतियोगितामा मोरङका ८ वटा शिक्षण संस्थाले भाग लिने भएका छन । एसईई दिएका र २१ वर्ष मुनिका खेलाडीलाई लक्षित गरिएको प्रतियोगिता लिग कम नकआउट को आधारमा खेलाइने क्लवका अध्यक्ष रोहित कोईरालाले बताउनुभयो ।
करिब १६ लाखको लागत गर्ने अनुमान गरिएको प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार र उपविजेतालाई ७५ हजार नगद सहित शिल्ड प्रदान गरिने अध्यक्ष कोइरालाले बताउनुभयो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई १० हजारका दरले पुरस्कार दिईने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई ३ हजार एक सय रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा समूह ए मा रेडस्टार मा.वि. पथरीशनिश्चरे, ग्रीनल्याण्ड कलेज विराटनगर, निहारीका कलेज विराटनगर र हिमालय दर्शन कलेज विराटनगर रहेका छन् ।
समूह बी मा बुद्ध ईङ्लिस वोर्डिङ स्कुल ग्रामथान, सिटी कलेज विराटनगर, कोशी मल्टिपल कलेज विराटनगर र कान्तिपुर कलेज विराटनगर छन । प्रतियोगिता चैत ८ सम्म संचालन हुने छ ।