Tune to BFM 91.2|Biratnagar

अन्य डेरीको दूध विराटनगर दुग्ध वितरण आयोजनामा

विराटनगर, २९ चैत । लकडाउनका कारण अन्य डेरीको दूध र दुग्धजन्य पदार्थ विक्री नभएपछि दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनामा दूधको ओइरो लागेको छ ।

पूर्वका केही निजी डेरी र संस्थानअन्तर्गतकै अन्य आयोजनाबाट अप्रत्याशित रूपमा दूध पाउडर बनाउन आउन थालेपछि विराटनगरको आयोजनामा दूधको कारोबार बढेको हो । विराटनगरका आयोजना प्रमुख गणेशकुमार यादवले दूध र दुग्धजन्य पदार्थको नियमित बिक्रीमा ह्रास आएपछि पूर्वका निजी डेरीहरूले आयोजनामा दूध ल्याएर पाउडर दूध बनाउन थालेको बताउनुभयो ।

आयोजनाले एक किलोग्राम पाउडर उत्पादन गरेवापत १ सय १० रुपैयाँ शुल्क लिने गरेको छ । खेर नजाने विकल्प पाएर निजी क्षेत्रका डेरीहरूले पाउडर उत्पादन गर्न आयोजनामा दूध ल्याइरहेका हुन् । सुनसरीको कामधेनु, मोरङको शिवम् र सूर्याेदय तथा झापाको एनएमसी र रीतिका डेरीबाट पाउडर बनाउनका लागि दूध आइरहेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर १ मा मिल्क होलिडे नहोस् भन्ने सरकारको नीतिअनुसार पाउडर दूधको उत्पादन भइरहेको उहाँले स्पष्ट पार्नुभयोे । कच्चा दूधको उत्पादन कम भएका बेला र प्रशोधित दूध तथा दुग्धजन्य पदार्थको माग बढी भएका बेलामा अहिले उत्पादित पाउडर दूधबाट प्रशोधित दूध तथा दुग्धजन्य पदार्थको उत्पादन गर्न सकिनेछ ।

प्रदेश नम्बर १ को सरकारले विराटनगरस्थित आयोजनाको पाउडर प्लान्टको क्षमता विस्तार गर्न ५ करोड रुपैयाँ दिएको छ । विराटनगरस्थित आयोजनाले प्रतिदिन २ हजार किलो घ्यू, १ हजार ५ सय लिटर दही र १ हजार ५ सय लिटर दूधको पनीर उत्पादन गरेर स्थानीय बजारमा बिक्रीवितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button