अपराधमा बालबालिकाको संलग्नता मोरङमा धेरै

0
112

विराटनगर, ३१ भदौ । प्रदेश १ मा भएका अपराधिक घटनामा मोरङमा बालबालिकाको संलग्नता धेरै रहेको पाइएको छ । बालबालिकाको संलग्नतामा अपराध हुने प्रदेश १ को जिल्लामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छन् । १८ वर्ष मुनीकालाई कानुनले बालबालिका मानेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश भरी एक सय ६४ जना बालबालिका अपराधिक घटनामा संलग्न रहेको प्रहरीको तथ्याँकले देखाउँछ । जस मध्ये मोरङमा ६४, झापामा झापामा ६१ र सुनसरीमा २७ जना बालक अपराधमा संलग्न छन् । अपराधमा संलग्न मध्ये मोरङमा दुई र सुनसरीमा एक बालिका छन् । प्रदेशका १४ जिल्ला मध्ये उदयपुरमा पाँच बालक, ओखलढुंगामामा दुई, इलाम, पाँचथर, ताप्लेजुङ र खोटाङमा एक÷एक जना १८ वर्ष मुनीका बालक अपराधिक घटनामा संलग्न रहेको प्रहरीको रेकर्डमा छ । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा भने बालबालिकाको संलग्नतामा कुनै पनि घटना भएका छैनन् । बालबालिकाको संलग्नतामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, जवरजस्ती करणी, करणी उद्योग, अभद्र व्यवहार, लागूऔषध, बालविवाह, चन्दा संकलन, अपहरण समेतका अपराधिक घटना हुने गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताउनु भयो । अपराध मध्ये कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा आठ, चोरीमा १०, जवरजस्ती करणीमा २९, करणी उद्योगमा आठ, अभद्र व्यवहारमा ३४, लागुऔषधमा १०, बालविवाहमा चार, बहुविवाहमा तीन, चन्दा संकलनमा एक र अपहरणमा ४१ जना बालकको संलग्नता छ । लागुऔषधमा एक र बालविवाहमा दुई बालिका संलग्न छन् । कोइरालाले अभाव र समस्यामा गुज्रिएका बालबालिकाको पहिचान गर्दै अपराधिक गिरोहले कानुन विपरितका काममा बालबालिकाको प्रयोग गर्ने गरेको बताउनु भयो । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली सबै कुराले अपरिपक्व हुने हुँदा बालबालिका आफै भन्दा पनि अपराधमा अरुले प्रयोग गर्ने गरेको बताउनु हुन्छ । ‘आफूले के गर्दा कस्तो परिस्थिती उत्पन्न हुन्छ भन्ने कुरा छुट्याउन नसक्ने अवस्थामा अरुले उक्साएर प्रयोग गरिदिन्छन्,’ उहाँले भन्नु भयो, ‘कतिपय बालबालिका संलग्न रहेका घटना आकस्मिक रुपमा पनि भएको पाइएको छ ।’ पढ्न नसक्दा, परिवारबाट तिरस्कृत हुँदा तथा अभिभावकले इच्छा र चाहना पूरा गर्न नसक्दा पनि बालबालिकाले अपराधको बाटो रोज्ने गरेको जानकारी ज्ञवालीले दिनु भयो । अपराधमा बालबालिकाको संलग्नतालाई न्यूनीकरण गर्दै शून्यमा झार्न प्रहरीले जनचेतनामुलक विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । अभिभावकमा सचेतना, बालबालिकालाई उचित वातावरण, सही मार्ग दर्शन, पारिवारिक सक्षमता, प्रहरी सक्रियता, अपराधका विरुद्ध शैक्षिक संस्था केन्द्रीत कार्यक्रम र जनचेतनाले अपराधमा बालबालिकाको संलग्नता रोक्न सकिने डीआईजी ज्ञवालीले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here